दर्शनशास्त्रको परिचय : अर्थ, परिभाषा, उत्पत्ति, ऐतिहासिक विकास र दर्शनको अवधारणा

मानव जीवनको इतिहास जति पुरानो छ, उसको जिज्ञासा, चिन्तन र सत्यप्रतिको अनुसन्धान पनि त्यति नै पुरानो छ । यही जिज्ञासाले मानवलाई केवल बाँच्ने मात्र होइन, जीवनलाई बुझ्ने प्रेरणा दियो । म को हुँ?, यो संसार किन छ?, सत्य के हो?, जीवनको अन्तिम उद्देश्य के हो? जस्ता प्रश्नहरूले मानव चेतनालाई झक्झक्याउँदै आएको छ । यिनै गहिरा प्रश्नहरूको उत्तर खोज्ने बौद्धिक प्रयासलाई नै दर्शनशास्त्र भनिन्छ । त्यसैले दर्शनशास्त्रलाई मानव जीवनको बौद्धिक र आध्यात्मिक यात्राको जीवन्त इतिहास तथा आधार मानिन्छ

दर्शनशास्त्रशब्दको अर्थलाई बुझ्दा यसको गहिरो अर्थ र प्रयोजन स्पष्ट हुन्छ । अंग्रेजी शब्द Philosophy ग्रीक भाषाका दुई शब्द Philo (प्रेम) र Sophia (ज्ञान) बाट बनेको हो, जसको अर्थ ज्ञानप्रतिको प्रेम वा अनुराग हुन्छ । यसले संकेत गर्छ कि दर्शनशास्त्र ज्ञानप्रेमीहरूको प्रिय विषय हो । तर वैदिक परम्परामा दर्शन शब्द अझ गहिरो छ । यो संस्कृतको दृश् धातुबाट बनेको हो, जसको अर्थ हेर्नु, देख्नु, बुझ्नु आदि हुन्छ । तर यहाँ हेर्नु भनेको केवल आँखाले देख्नु मात्र होइन, परमसत्यको अनुभूति गर्नु हो । त्यसैले दर्शन भन्नाले वस्तुको यथार्थ स्वरूपलाई अनुभवसहित बुझ्ने प्रक्रिया हो ।

दर्शनशास्त्रको परिभाषा विभिन्न दार्शनिकहरूले फरक-फरक ढङ्गले दिएका छन्, जसले यसको व्यापकता देखाउँछ । प्लेटोले दर्शनलाई सत्यको खोज मानेका छन् भने अरिस्टोटलले यसलाई अन्तिम कारणहरूको विज्ञान भनेका छन्। बर्ट्रान्ड रसेलकाअनुसार दर्शन त्यस्ता प्रश्नहरूको अध्ययन हो जसको निश्चित उत्तर नहुन सक्छ तर जसले मानव चिन्तनलाई गहिरो र अर्थपूर्ण बनाउँछ । वैदिक सन्दर्भमा दर्शनलाई तत्त्वज्ञान भनिन्छ, जसले ब्रह्म, आत्मा र जगतको वास्तविक स्वरूपको ज्ञान प्रदान गर्छ । यसरी दर्शनशास्त्र केवल सिद्धान्तहरूको अध्ययन मात्र होइन, सत्य, ज्ञान, अस्तित्व र मूल्यहरूको गहिरो अन्वेषण हो ।

दर्शनशास्त्रको उत्पत्ति मानवको स्वाभाविक जिज्ञासा, आश्चर्य र सन्देहबाट भएको मानिन्छ । मानवले प्रकृतिका रहस्यहरू, जन्म–मृत्युका प्रश्नहरू र जीवनको अर्थबारे सोच्न थालेपछि दर्शनको जन्म भएको हो । ग्रीकली दार्शनिकहरूले प्रकृतिको मूल तत्त्व खोज्न थाले—जस्तै थेलीसले पानीलाई मूल तत्त्व माने भने हेराक्लाइटसले परिवर्तनलाई सत्य माने । यसरी पाश्चात्यदर्शनको प्रारम्भ भयो । अर्कोतर्फ, वैदिक परम्परामा ऋषिहरूले ध्यान, तपस्या र अनुभूतिबाट सत्यको खोज गरे । वेद र उपनिषद् यसका प्रमाण हुन् । वैदिक संस्कृतिमा दर्शन केवल तार्किक वहसमा सीमित नभई आध्यात्मिक अनुभूति, आत्मसाक्षात्कार तथा मोक्षमा आधारित छ । तेसैले दार्शनिक इतिहासकारहरूले दर्शनशास्त्रको उत्पत्तिमा तीनवटा प्रमुख मूलस्रोत : जिज्ञासा, आश्चर्य र सन्देह मानेका छन् ।

समयक्रमसँगै दर्शनशास्त्रको ऐतिहासिक विकास विभिन्न चरणहरूमा भएको हो । पाश्चात्य दर्शनमा प्राचीन कालमा सोक्रेटिस, प्लेटो र अरिस्टोटलले नैतिकता, ज्ञान र अस्तित्वका विषयमा गहिरो चिन्तन गरे । मध्यकालमा दर्शन धर्मसँग जोडियो र सन्त अगस्टिन तथा थोमस एक्विनासले ईश्वर र धार्मिक विश्वासका विषयमा विचार प्रस्तुत गरे । आधुनिक कालमा डेकार्ट, लॉक, ह्यूम र कान्टले तर्क, अनुभव र ज्ञानको स्वरूपबारे नयाँ दृष्टिकोण दिए। समकालीन दर्शनमा अस्तित्ववाद, फलवाद, वास्तववाद, वस्तुसृष्टिवाद र विश्लेषणात्मक दर्शनजस्ता धाराहरू विकसित भए ।

वैदिक दर्शनको विकास पनि अत्यन्त समृद्ध र विविधतापूर्ण  छ । यहाँ आस्तिक दर्शन अर्थात् न्याय, वैशेषिक, सांख्य, योग, पूर्वमीमांसा र वेदान्तले वेदलाई प्रमुख आधार मानेर सत्यको खोज गरे भने नास्तिक दर्शन अर्थात् बौद्ध, जैन र चार्वाकले  सत्यका विषयमा भिन्न दृष्टिकोण प्रस्तुत गरे । वैदिक दर्शनको मुख्य लक्ष्य मोक्ष प्राप्ति हो, मोक्षनै दु:खमुक्ति हो । वैदिक दार्शनिक चिन्तनमा तर्क तथा अनुभूतिको समन्वय पाइन्छ, जुन यसको मौलिक विशेषता हो ।

दर्शनको अवधारणात्मक प्रवृत्ति बुझ्दा यसको वास्तविक महत्व अझ स्पष्ट हुन्छ । दर्शन  केवल सैद्धान्तिक ज्ञान होइन, अपितु जीवनको प्रत्यक्ष अनुभूति हो । वैदिक परम्परामा दर्शनलाई देख्ने अर्थात् सत्यलाई अनुभूति गर्ने प्रक्रिया मानिन्छ । यसले जीवनका गहिरा प्रश्नहरूको समाधान मात्र गर्दैन, जीवनलाई सही दिशा पनि दिन्छ । दर्शनशास्त्रले मानवीय जीवनलाई आत्मज्ञान, नैतिकताजस्ता महत्वपूर्ण उद्देश्यतर्फ डोर्याउँछ । उदाहरणकालागि  वेदान्तदर्शनले ब्रह्मलाई परमसत्य मानेर आत्मा र ब्रह्मको ऐक्यतालाई प्रतिपादन गर्छ, सांख्यले पुरुष र प्रकृतिको द्वैत बताउँछ भने बौद्ध दर्शनले अनात्म र क्षणिकताको सिद्धान्त प्रस्तुत गर्छ । यी सबै सत्यलाई बुझ्ने फरक-फरक मार्ग हुन् भन्ने प्रष्ट हुन्छ ।

सारमा, दर्शनशास्त्र मानव जीवनको गहिरो बौद्धिक, आध्यात्मिक र विष्मयले प्रेरित गरेको गहिरो खोज हो । यसले केवल ज्ञान मात्र प्रदान गर्दैन अपितु जीवनलाई अर्थपूर्ण बनाउने मार्ग पनि देखाउँछ । यसको उत्पत्ति मानवको जिज्ञासाबाट भएको हो र यसको विकास विभिन्न सभ्यताहरूमा फरक-फरक अवस्था भएको हो । विशेष गरी दर्शनको अवधारणाले दर्शनलाई केवल सोच्ने विषय नभई अनुभूति गर्ने प्रक्रिया बनाएको छ । यसैले दर्शनशास्त्रलाई जीवन जिउने कला र सत्य प्राप्त गर्ने मार्गको रूपमा बुझ्न सकिन्छ ।